काठमाडौं– सभामुखको विवादास्पद निर्णायक हस्ताक्षर लिएर कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका उद्धव थापाको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई असार २१ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि कांग्रेससहित माओवादी केन्द्र एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए।
असार २२ गते शपथ लिएका थापाले आफ्नो मन्त्रिपरिषद्मा ६ जना मन्त्री नियुक्त गरेका थिए। माओवादी केन्द्रका जीवन आचार्यलाई आर्थिक योजना मन्त्रीको जिम्मेवारी तोक्नुबाहेक अन्य मन्त्री बिनाविभागिय थिए।
थापाले संविधान अनुसार साउन २० सम्ममा विश्वासको मत लिन पाउँथे तर सर्वोच्चको फैसलाले उनी आफूलाई संसद्मा परीक्षण गर्नै नपाई ‘आउट’ भएका छन्।
९३ सदस्यीय सभा रहेको यो प्रदेशमा बहुमतका लागि ४७ सांसद आवश्यक पर्थ्यो। थापाले माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।