काठमाडौं- सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
राजस्व अनुसन्धान विभागले अनुसन्धानका लागि थुनामा राखेको निर्णयलाई चुनौती दिँदै पराजुलीको हकमा अधिवक्ता विक्रम भण्डारीले बन्दीको निवेदन मंगलबार दर्ता गराएका हुन्। उक्त रिट बुधबार न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ। मुद्दा पहिलो नम्बरमै पेसी रहेको छ।
१ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीले सुन विमानस्थलबाट बाहिर निकाल्न सहयोग गरेको र सुन तस्करीसँग मिलेमतो हुन सक्ने भन्दै विभागले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
‘रेडी ट्रेड प्रालि’ ले मगाएको स्कुटर र मोटरसाइकलको ब्रेक सुमा सुन तस्करी भएको पाइएको थियो। विभागले समानभित्र सुन भएको सूचनाको आधारमा विमानस्थलको गेटमा पक्राउ गरेको थियो।
मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापनपत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो। उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। अन्य व्यक्तिहरुको खोजी भइरहेको छ। सुनको मुख्य मालिकको खोजी भइरहेको छ। सुन प्रकरणमा पक्राउ परेकाहरुलाई उच्च अदालत पाटनबाट म्याद थप भएको छ।
सर्वोच्चले पराजुलीको बन्दीको निवेदनमा पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्न सक्नेछ। इजलासले बन्दीसहित २४ घन्टाभित्र अदालत उपस्थित हुनु भनी आदेश जारी गर्न सक्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।