पुष्पलालको स्वास्थ्य अवस्था ठीक थिएन। बायाँ खुट्टाको पिँडौला सुन्निएर हिँडडुल गर्न असजिलो हुन्थ्यो। अलिकति धपेडी पर्दा श्वासप्रश्वास लिन कठिन हुन्थ्यो। यस्तै बेलामा दरभंगामा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। त्यतिबेला विद्यावारिधी गर्न भारतमै रहेकी पत्नी सहाना प्रधानले प्रशिक्षणमा नजान गरेको आग्रहलाई पनि उनले अस्वीकार गरेका थिए। उनको भनाइ थियो, ‘साथीहरु भूमिगत जीवनका अनेक दुःखकष्ट सहेर प्रहरी प्रशासनका आँखाबाट लुक्दैछिप्दै टाढाटाढाबाट दरभंगा आउनुहुन्छ। यसरी उत्साहपूर्वक आउनुभएका साथीहरुलाई बैठक स्थगित भएको समाचारले निराश बनाउँछ।’ (गोविन्द ज्ञवाली/समकालीन इतिहासमा पुष्पलाल)
प्रशिक्षण कार्यक्रम नसकिँदै पुष्पलाललाई हृदयघात भयो। यो २०३५ साल जेठको कुरा हो। यसअघि उनलाई २०२९ मा पनि हृदयघात भइसकेको थियो। तर उनले आफ्नो खानपिन सुधार गरेका थिएनन्। त्यतिबेला वनारसमा पुष्पलालसँगै रहँदाको एक प्रसंग शम्भुराम श्रेष्ठले स्मरण गरेका छन्, ‘त्यतिबेला उहाँलाई पहिलो हर्ट अट्याक भैसकेको रहेछ र डाक्टरले उहाँलाई बिहान-बेलुका २-३ वटा मात्र सुख्खा गहुँको रोटी खानोस् भनेको रहेछ। म वनारसमा एक हप्ता जति बसेँ, उहाँकै कार्यालय भएको घरमा। उहाँले बिहान ४ बजे नै मलाई उठाएर नजिकको एउटा चिया दोकानमा लिएर जानुहुन्थ्यो र दूधको तरैतर भएको चिया खानुहुन्थ्यो। त्यस्तो चिया उहाँ लुकी-लुकी दिनको दश-बाह्र कप खानुहुन्थ्यो, जो उहाँको हृदयरोगका निम्ति घातक थियो।’ (क. पुष्पलाल स्मृति अंक २०५२/पुष्पलाल स्मृति प्रतिष्ठान)
भारतमा पुष्पलालसँग निकट सम्बन्ध रहेका तीन जना ‘सिंह’ थिए- भीएन सिंह (दरभंगा) , चन्द्रवलि सिंह (बनारस) र अयोध्या सिंह (कलकत्ता)। दरभंगामा हृदयघात भएपछि पुष्पलालका चिकित्सक समेत रहेका भीएन सिंहको घरमै थिए। त्यहीँबाट गोविन्द ज्ञवालीलाई खबर पुगेको थियो। ज्ञवाली बनारसबाट दरभंगा पुगेपछि उनै भीएनले मिलाइदिएको चाँजोपाँजो अनुसार पुष्पलाललाई लिएर दिल्ली प्रस्थान गरेका थिए।
भाकपा मार्क्सवादीका नेताहरुले पुष्पलाललाई राममनोहर लोहिया अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाएका थिए। तर तेस्रो दिन उनलाई गोविन्दवल्लभ पन्त अस्पतालमा सारियो। त्यतिबेला सो अस्पताल हृदयरोगको उपचारका लागि राम्रो मानिन्थ्यो। (गोविन्द ज्ञवाली/समकालीन इतिहासमा पुष्पलाल) राममनोहर लोहिया अस्पतालमा तीन दिनसम्म राख्दा पनि ‘बीसको उन्साइस नभएपछि’ गोविन्दबल्लभ पटेल अस्पतालमा लगिएको थियो। सहानाका अनुसार, त्यहाँ लगेर उपचार गरेपछि पुष्पलालको अनुहार फेरिएको थियो। कुरा गर्न सक्ने अवस्थामा पुगेका थिए। (सुशीला श्रेष्ठ/सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट)
गोविन्दबल्लभ पटेल अस्पतालमै बाँकी उपचार भयो। आर्थिक अवस्था बलियो नभएका कारण पुष्पलाललाई जनरल वाडमा भर्ना गरिएको थियो। त्यो थाहा पाएका भारतको तत्कालीन सत्तासीन पार्टी भारतीय जनता दलका अध्यक्ष चन्द्रशेखरले स्पेसल वार्डमा सार्नका लागि सहयोगीमार्फत् प्रयत्न गरेका थिए। तर पुष्पलालले अस्वीकार गरिदिए। उनको मान्यता थियो- सहयोगका हातभित्र अदृश्य स्वार्थहरु लुकेका हुनसक्छन्। तैपनि अस्पताल प्रशासनले चन्द्रशेखरको आग्रह अनुसार उनलाई स्पेसल वार्डमा सारिदिएको थियो। भारतीय कम्युनिस्ट नेताहरु त जनरल वार्डमै पनि भेट्न र स्वास्थ्य अवस्था बुझ्न आइरहन्थे। स्पेसल वार्डमा सारिएपछि चन्द्रशेखर पनि आए। नेपाली नेताहरु पनि आए। शैलजा आचार्य, गिरिजाप्रसाद कोइराला जस्ता कांग्रेस नेताहरु पनि पुगे। कोइरालाले पुष्पलालको निधन हुनुभन्दा केही मिनेटअघि मात्रै भेटेका थिए।
साउन ७ गते पुष्पलालको स्वास्थ्य अवस्था एकदमै खराब भएको थियो। उनी आईसीयूमा थिए। अब उनी स्वयंलाई आफ्नो अन्तिम दिन आइरहेको अनुभूति भइसकेको थियो। त्यसैले आफ्ना निकटस्थसँग अन्तिम संवादहरु गर्न थालेका थिए। जस्तो कि, उनले पत्नी सहानालाई भने, ‘सहाना..अब.. गर्नु..है..!’ पुष्पलालले प्रष्ट भन्न नसकेको सो सन्दर्भलाई सहानाले ‘पार्टीको काम गर्नु है’ भनेको हुनसक्ने आकलन गरेकी छन्। (सुशीला श्रेष्ठ/सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट) पुष्पलालले निकटतम सहकर्मी अरविन्द कुमार (केशव खड्का)लाई भने, ‘कमरेड! अब यो अभिभारा तपाईंहरुको हातमा आएको छ। ... कार्यकर्ताहरु राजनीतिक रुपले संगठित हुनुपर्छ। जनता चेतनशील हुनुपर्छ। क्रान्ति अवश्यम्भावी छ। यसलाई कसैले रोकेर रोक्न सक्दैन।’ (नवयुग/२०६७ साउन)
स्वास्थ्य अवस्था गम्भीर थियो। उनी ‘हँ-हँ’ गरिरहन्थे। अन्ततः २०३५ साउन ७ गते बिहान ११:३० बजे उनको निधन भयो।
पुष्पलालप्रति चन्द्रशेखरको चासो थियो। उनले उपचारका लागि सम्भव सहयोग गर्न आफू सधैँ तत्पर रहेको प्रष्ट पारेका थिए। तर उपचार सफल हुन सकेन। निधनपछि भने अस्पतालको बिल उनैले तिरिदिएका थिए। डिस्चार्जका लागि हिसाबकिताब गरेर पैसा जम्मा गर्नै लाग्दा चन्द्रशेखरका निजी सचिवले गोविन्द ज्ञवालीलाई भनेका थिए- ‘यस पवित्र कामका लागि चन्द्रशेखरले मलाई पठाउनुभएको हो। यो नेपाली जनताको आन्दोलनप्रति हाम्रो समर्थनको एक प्रकारको प्रतीक पनि हो। उहाँ यता आउँदै हुनुहुन्थ्यो। बीच बाटामै उहाँका एक जना निकटतम् मित्र दुर्घटनामा परेको दुःखद समाचार सुनेपछि अहिले लोहिया अस्पतालतिर लाग्नुभएको छ। केही क्षणमै उहाँ आउनुहुन्छ। डिस्चार्ज गर्ने काम गर्न उहाँले मलाई यहाँ पठाउनुभएको छ।’ यति भन्दै उनले पैसा बुझाएर डिसचार्ज कार्ड ज्ञवालीलाई थमाइदिएका थिए। (गोविन्द ज्ञवाली/समकालीन इतिहासमा पुष्पलाल)
शवसँग डराएको सत्ता
पुष्पलालको निधनको समाचार भारतीय एवं अन्य विदेशी सञ्चार माध्यमले प्रशारण गरेपछि भारत तथा नेपालमा रहेका नेपालीहरुले थाहा पाएका थिए। भारतमा रहेकाहरु अस्पतालमा झुम्मिए। अस्पताल प्राङ्गणमा राखिएको शवलाई श्रद्धाञ्जली व्यक्त गरे। त्यतिबेला भारतमा रहेका नेपालका शीर्ष नेताहरु र सर्वसाधारण राजनीतिक व्यक्तिहरु श्रद्धाञ्जलीका लागि अस्पताल पुगेका थिए। भारतीय शीर्ष नेताहरु पनि पुगेका थिए।
यता नेपालमा रहेकाहरुले पनि आफ्नो अनुकूलताको शोकसभा आयोजना गरे। तिनैमध्येका एक वामपन्थी नेता कमल कोइरालाको भनाइ छ, ‘का. पुष्पलालको मृत्युको खबर इन्डिया रेडियोबाट सुनेपछि २०३५ साउनमा विराटनगरमा आयोजित शोकसभा माझबाट का. महेशजी र मलाई पक्राउ गरी प्रहरी जीपमा हालेर सीडीओ कार्यालय लगियो। प्रारम्भ मात्र भएको शोकसभा पूरा गर्न दिइएन। शोक मनाउन दिइएन।’ (नेपाल- पत्र/पुष्पलाल स्मृति अंक/२०४७ साउन १५)
पुष्पलालको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउने प्रयत्न चल्यो। नेपाली नागरिक भएका कारण उनको शव नेपाल नै ल्याउन खोज्नु सामान्य र स्वाभाविक थियो। त्यसका लागि पार्टीका नेताहरुले पहल गरेका थिए। चन्द्रशेखरले समेत पहल गरेका थिए। तीन दिनसम्म दरबारसँग भारतमा रहेको नेपाली दूतावासमार्फत् संवाद भइरह्यो। दरबारले कहिले ‘हुन्छ, सल्लाह गरेर गरौँला’ भन्थ्यो। कहिले शव ल्याउन नदिने खालको संकेत गर्थ्यो। तेस्रो दिनमा भने स्पष्टसँगै हुँदैन नै भन्यो।
सबै प्रयत्न असफल भएपछि साउन ९ गते दिल्लीस्थित यमुना नदी किनारको निगमबोध घाटमा शवको अन्त्येष्टि गरियो। पुष्पलाल पुत्र उमेश श्रेष्ठले शवमा दागबत्ति दिएका थिए।
शव काठमाडौं ल्याउन नसकेपछि अस्तु ल्याउने तयारी चल्यो। त्यसका लागि स्वयं सहानाले दरबारलाई पत्र लेखेकी थिइन्। ‘मलाई पुष्पलालजीको अस्तु नेपाल ल्याउन पाऊँ भनेर राजा वीरेन्द्रलाई पत्र लेख्न लगाइयो,’ उनले लेखेकी छन्, ‘मेरो मनले मानेको थिएन। तर शोकको घडीमा जसले जे भने पनि मान्न बाध्य हुनुपर्दोरहेछ। तर, पञ्चायती शासक तथा दरबारबाट कुनै हालतमा पनि अस्तु नेपाल ल्याउन नदिने भन्ने कुरा आयो।’ (सुशीला श्रेष्ठ/सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट)
दिल्लीमा अन्त्येष्टिका काम सकेर नेताहरु बनारस पुगे। त्यहीँ रहेको पार्टी मुख्यालयमा साउन १२ गते बैठक बसे। त्यसले अस्तु काठमाडौं लैजाने निर्णय गर्दै त्यसको जिम्मा आरबी भण्डारी र आरसी चापागाईंलाई दियो। त्यतिबेला यी दुवै जना पार्टीको गण्डकी अञ्चल कमिटीमा क्रमशः सचिव र सदस्य थिए।
अस्तु ल्याउन पनि सहज थिएन। ‘त्यतिबेला मनमोहन अधिकारी नेपालमै हुनुहुन्थ्यो। नाताले उहाँ पुष्पलालको साढुदाइ हुनुहुन्थ्यो। राजनीतिक रुपमा सहकर्मी हुनुहुन्थ्यो। उहाँले ‘अस्तु नेपाल ल्याउन सक्नुहुन्छ भने नेपालभित्र आइसकेपछि बाँकी सबै व्यवस्था म गर्छु’ भन्नुभएको थियो। त्यसैले हामीले अस्तु नेपाल ल्याएका थियौँ’, नेपाल लाइभसँग भण्डारीले भने।
शव वा अस्तु ल्याउन खोज्नुको धार्मिकभन्दा पनि राजनीतिक कारण थियो। किनकि, त्यसले नेपालमा सिर्जना गर्ने बहस र छलफलले राजनीतिक चेतना विस्तारमा सहयोग पुर्याउँथ्यो। शव विसर्जनमा उपस्थित हुने भिडले आगामी दिनमा हुनसक्ने जनसहभागिताको संकेत दिन्थ्यो। पुष्पलालप्रति मानिसमा रहेको सद्भाव र उनको विचारप्रति मान्छेको विश्वासको मापन हुनसक्थ्यो। धार्मिक कारणले मात्रै शव वा अस्तु ल्याउन खोज्नुको अर्थ थिएन, किनकि भारतमै काशी जस्ता प्रसिद्ध धार्मिक स्थलहरु थिए, शोभाभगवतीसम्मको कष्ट झेल्नै पर्दैनथ्यो।
उल्लेखित कारण र परिणामको आकलन नेपाली शासकले पनि सहजै गरेका थिए होलान्। शव ल्याउन दिइएको भए मृत पुष्पलालप्रति जाग्ने श्रद्धाले ठूलो जनसंख्यालाई भावनात्मक बनाउन सक्थ्यो। त्यसले परिवर्तनका निम्ति प्रतिबद्ध बनाउन सक्थ्यो। परिणामतः पञ्चायतविरोधी आन्दोलन उठ्न सक्थ्यो। उनीहरुले नेपालमा शोकसभा समेत रोकेका थिए। शव ल्याउन दिने त सम्भावना नै थिएन। शासकको रवैयाबाट सहजै बुझ्न सकिन्छ- ऊ पुष्पलालको शवसँग समेत डराएको थियो।
शव त ल्याउन दिइएन नै, अस्तु पनि जफत गर्ने सरकारको योजना थियो।
हल्ला एकातिर, तयारी अर्कैतिर
पार्टीले प्रेस वक्तव्य प्रकाशित गरी २०३५ साउन १६ गते अस्तु काठमाडौं ल्याइने छ भनेपछि बीबीसीले सोही समाचार प्रकाशित गर्यो। समाचार प्रशारण हुनासाथ सरकारी पक्ष अस्तु ल्याउने काम रोक्ने कुरातिर लाग्यो भने देशभर जनता सो अस्तु विसर्जनको कार्यक्रममा सहभागी हुने तरखरमा लागे। (नखुलेको इतिहास र म/आरबी भण्डारी)
पञ्चायती व्यवस्थामा शासकले नरुचाएको काम गर्न निकै चुनौतीपूर्ण थियो। तैपनि, अस्तु नेपाल लैजाने निर्णय भइसकेको थियो। नेपालमा पनि ‘अस्तु विसर्जन समिति’ नै गठन भएको थियो। त्यसले सानोसानो कार्ड नै छापेर सम्भव भएका जतिलाई निमन्त्रणा नै पठाएको थियो। त्यही समितिले नै अस्तु आउने विषयलाई व्यापक बनाएको थियो। अस्तु आउने दिन नै तोकेर प्रचारप्रसार गरेको थियो। समाचारहरु सार्वजनिक भएका थिए। गाडीको व्यवस्थापन गर्ने लगायतका काम पनि गरेको थियो। यसर्थ अस्तु विसर्जन गरिने विषयले व्यापक चर्चा पाएको थियो। आम चासो व्यक्त भएको थियो। प्रतीक्षा सुरु भएको थियो।
काठमाडौंमा पुष्पलालको अस्तु हवाइजहाजद्वारा काठमाडौं ल्याइँदैछ भन्ने प्रचार गरिएकाले प्रशासनको ध्यान भारतबाट आउने जहाजतिर थियो। दिल्लीबाट आएको हवाइजहाजलाई शाहीसेनाले घेरा हालेर हेरेको पनि थियो। तर केही पाएन। (नयाँ जनवाद/कमरेड पुष्पलाल श्रद्धाञ्जली विशेषांक)
यता अस्तु नै नेपाल ल्याउने जिम्मेवारी पाएका भण्डारी र चापागाईं भने ट्रेन प्रयोग गरेर वीरगंज आइपुगेका थिए। बट्टामा हालेर ल्याइएको अस्तु (खरानी) लाई दुई भाग लगाए। र दुई थरी मार्ग प्रयोग गरेर काठमाडौं आइपुग्ने जुक्ति लगाए। सोही अनुसार, चापागाईं सिमराबाट विमानमा आउने भए, भण्डारी स्थलमार्गबाट। दुई मध्ये एक जना पक्राउ परे भने पनि अस्तु सुरक्षित नै रहन्छ भन्ने रणनीति उनीहरुले अपनाएका थिए।
भण्डारी वीरगञ्जबाट ट्रक चढेर काठमाडौं आइपुगे। ‘प्रभुनारायण चौधरीले काठमाडौंमा हाम्रो पार्टी हेर्नुहुन्थ्यो। म राति नै उहाँकहाँ पुगे र त्यहीँ बसेँ। म आइपुगेको कसैले थाहा पाएनन्’, भण्डारी सन्झिन्छन्। नेताहरु भेटेर उनले सूचना सम्प्रेषण गरे। चाँजोपाँजो मिलाए।
उता आरसी विमानमा सिमराबाट काठमाडौं उडे। काठमाडौं विमानस्थलमै भण्डारी तथा मनमोहन लगायतका नेतालाई भेटे।
विमानस्थलमा भीड थियो। सबैजसोको ध्यान दिल्लीबाट आउने विमानतर्फ थियो। किनकि, दिल्लीबाट अस्तु आउँदैछ भन्ने प्रचार व्यापक थियो। तर एक अंश अस्तु भने ट्रकमार्फत् काठमाडौं आइपुगेको थियो, अर्को अंश सिमराबाट विमानमार्फत् ल्याइपुर्याइएको थियो।
आरसी चापागाईं लेख्छन्, ‘काठमाडौं पुगेपछि भव्य जुलुसमा पुगी खुला जीपमा उभिएर पुष्पलालको ठूलो तस्बिर, झन्डा, अस्तु अगाडि राखी समात्दै म उभिएर खडा भएँ। पछाडि मनमोहन, टंकप्रसाद आचार्य आदि वरिष्ठ ५ नेता बस्नुभयो। मनमोहनले एक मिनेट जुलुसलाई सम्बोधन गर्नुभयो। शम्भुराम कमरेडले बोल्दै ‘कम्युनिस्टको अस्तु नदीमा हुँदैन, यही राखी शालिक बनाउनुपर्छ, श्रद्धाञ्जली सभा गरे पुग्छ’ भन्नुभयो। झगडा र कचकच भयो। तब मैले भनेँ, ‘पुष्पलालको अस्तु पार्टीको आधिकारिक निर्णयका साथ ल्याएको छु, मेरो साथमा नै छ, सबथोक योजनाअनुसार चल्छ, अतः शोभाभगवतीतिर जुलुस चलोस्।’ जुलुस हिँड्यो।’ (नवयुग, २०६७ साउन)
अस्तुलाई विमानस्थलदेखि शोभाभगवती लैजाने तयारी पहिल्यै थियो। मान्छेहरु पनि त्यहीअनुसार आएका थिए। विमानस्थलमा मान्छेको जनसहभागिता थामिनसक्नु थियो। जनसहभागिता अपार भिडकै कारण अस्तु काठमाडौं भित्रिसक्दा पनि प्रहरीले खोस्ने आँट गर्न सकेन।
चापागाईंका अनुसार, १२ गतेको पार्टी भेलाले अस्तु नेपाल लैजाने निर्णय गरेको थियो। उनीहरु १४ गते वीरगञ्ज आइपुगेका थिए। र भण्डारी त्यसै दिन काठमाडौंका लागि प्रस्थान गरी १५ गते पुगेका थिए। उनी भने १६ गते बिहान ९ बजे विमानबाट काठमाडौं प्रस्थान गरेका थिए। र १६ गते नै शोभाभगवतीमा अस्तु विसर्जन गरिएको थियो। (नवयुग, २०६७ साउन)
मनमोहनको हातबाट खोसियो अस्तु!
दिल्लीको निगमबोध घाटमा पुष्पलालका पिता भक्तलालको अन्त्येष्टि गरिएको थियो। शोभाभगवतीमा भने उनका दाजु शहीद गंगालालको अन्त्येष्टि गरिएको थियो। एउटा संयोग थियो, निगमबोध घाटमा पुष्पलालको अन्त्येष्टि गरिएको थियो, शोभाभगवतीमा अस्तु विसर्जन गरिँदैथियो।
दुई मार्गबाट आएको अस्तुलाई एकीकृत गरियो। नेवारी संस्कृति पनि मिसियो। अस्तुलाई तामाको भाँडामा राखियो। त्यसपछि गाडीमा राखेर शोभाभगवतीतर्फ अघि बढियो। ‘त्यतिबेला रिङरोड बनेको थिएन। तर, विमानस्थलदेखि डिल्लीबजारसम्म मान्छेको लाम थियो’, भण्डारी सम्झिन्छन्, ‘त्यतिबेला मान्छेहरु भन्थे- २००७ सालको आन्दोलनमा जति मान्छे सहभागी भएका थिए, त्यसपछिको अवधिमा त्यहीँ आएका मान्छेहरुको समूह नै सबैभन्दा ठूलो हो।’
यो जुलुसमा त्यतिबेला नेपालमा उपलब्ध सबै जसो पार्टीका सबै जसो शीर्ष नेताहरु सहभागी थिए।
शोभाभगवती पुगिसकेपछि कैयौँले भण्डारीको कानमा सुनाए- ‘यहाँ कठिन परिस्थिति छ। सीआईडीहरु छ्यापछ्याप्ती छन्, सक्रिय छन्। तिमीहरु सुरक्षित छैनौ। तिमीहरुलाई मार्न पनि सक्छन्।’
अस्तु बोकेको टोली विष्णुमतिको बीचमा पुगिसकेको थियो। त्यतिबेला मनमोहनले अस्तु बोकेका थिए। बारम्बार असुरक्षाको चेतावनीपछि भण्डारीले मनमोहनलाई सोधे, ‘दाइ, स्थिति बडो नाजुक छ भन्ने सुनिन्छ। तपाईंले यहाँको सबै जिम्मा लिन्छु भनेर हामीले अस्तु ल्याएका हौँ। स्थिति के छ?’
मनमोहनले जवाफ फर्काए, ‘मैले सोचेको जस्तो भएन। खतरा बढी भयो। म केही जान्दिनँ।’
‘मनमोहनको जवाफले मलाई एकदमै रिस उठ्यो’, भण्डारी सम्झना गर्छन्, ‘मैले पनि ‘खै त्यो अस्तु यता ल्याउनुस् त’ भनेर उहाँको हातबाट लिएँ। त्यतिबेला हाम्रो पार्टीको बागमती अञ्चलको अञ्चल कमिटीका देवनारायण महर्जनलाई दिएँ। उहाँलाई ‘तपाईंले यसलाई विसर्जन गर्नुहोला, हामीचाहिँ हिँड्यौँ’ भनेर हामीले त्यो स्थान छाड्यौँ।'
मनमोहनको भूमिकाप्रति आलोचनात्मक सुनिन्छन्, भण्डारी। ‘उहाँको भूमिका शंकास्पद थियो। कम्युनिस्ट आन्दोलनमा उहाँ सुरुदेखि नै, हाम्रो भाषामा, उहाँ राजावादी रुझानमा भएको मान्छे हो,’ उनी भन्छन्, ‘त्यतिबेला उहाँले कति वार्ता गर्नुभयो, त्यो उहाँले जान्ने कुरा हो। तर उहाँले आफूले भनेअनुसार गर्नसक्नुभएन। र हामीलाई सुरक्षित गर्ने वचनबद्धता पनि पूरा गर्न सक्नुभएन।’
आफ्नो पुस्तक ‘नखुलेको इतिहास र म’ मा भण्डारीले त्यस दिन सरकारले काठमाडौंभर गाडीहरु चल्न दिएको थिएन भन्ने उल्लेख गरेका छन्। ‘हामी दुई (चापागाईं समेत) शोभाभगवतीबाट पैदल क्षेत्रपाटी निस्केर जयनेपाल सिनेमाघर पुग्यौँ र शरीरमा रहेको अबिर आदि पखाली लुगा फेर्ने चाहनाले त्यहाँ जाँदा सिनेमाहलभित्र पस्न पाइएन र त्यहाँबाट निस्केर हात्तीसार हुँदै जान भनेर निस्किनासाथ पुरानो चाइनिज दूतावासको छेउमा आइपुग्नासाथ एउटा गुप्तचर हाम्रो पछि लागेको शंका भयो। हालको जस्तो भवनहरु नबनी बाँसघारी मात्र मात्र रहेको पश्चिमपट्टिको भागमा हामीसँग रहेका पार्टीका चिठ्ठीपत्रहरु च्यातेर फालियो र हात्तीसार हुँदै कमलपोखरीतिर मात्र के लागिएको थियो। तिनैतिरबाट पुलिसको गाडी आयो। हामी दुवैलाई पक्रेर हालको पुलिस क्लब भृकुटीमण्डपमा पुर्याइयो। हामीलाई त्यहाँ सोधपुछ गरियो। हामीले पार्टीको कार्यकर्ता भएको र पार्टीको निर्णयानुसार अस्तु ल्याएको हो भन्ने कुरा कत्ति नढाँटी भन्यौँ।’
चापागाईंको लेखाइ भने केही पृथक छ। उनले मनमोहनको भूमिका मात्रै होइन, शोभाभगवतीबाट बाहिरिएको प्रसंगलाई पनि फरक ढंगले लेखेका छन्। उनको भनाइ छ, ‘ऐतिहासिक-राजनीतिक घटना बोकेको अस्तुसहितको जुलुसमा शोभाभगवती पुगियो। मनमोहन कमरेडले अध्यक्षता गर्दै हुनुहुन्थ्यो। उहाँको निर्देशनमा पार्टी प्रतिनिधि मैले अस्तु विष्णुमती नदीमा बगाएँ र धन्यवाद दिएँ। तब म र आरबी (भण्डारी) गायबझैं भइ पूर्वयोजनाअनुसार स्वयंसेवकहरुले तयार गरेको कारमा आश्रमस्थलतिर लाग्यौँ।’ (नवयुग, २०६७ साउन)
पक्राउ परेका उनीहरु त्यसै दिन छुटेका थिए।
माथि पनि चर्चा भइसक्यो, पुष्पलालको शव ल्याउने प्रयत्न होस् वा अस्तु ल्याइएको प्रसंग होस्, जनचेतना फैलाउने उद्देश्यबाट निर्देशित थिए। भण्डारी भन्छन्, ‘राजनीतिक रुपमा जनतालाई चेतना फैलाउन अस्तु ल्याइएको थियो। शोभाभगवतीमा छोटो अवधिमा विसर्जन गरियो। जनताको सहभागितालाई अझ बलियो बनाउन अस्तुको थोरै भागलाई आर्यघाट पनि पठाइयो।’
त्यसो त, वाराणसीमा पनि पुष्पलालको अस्तु विसर्जन गरिएको थियो। २६ जुलाइ (साउन ११ गते)को साँझ ५ बजे वाराणसीको दशपुत्रगल्लीस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट अस्तु लिएर एक शोक जुलुस भागिरथी गंगा किनारको दशाश्वमेध घाटमा गई विसर्जन गर्ने काम सम्मन्न गरिएको थियो। नेकपामा नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, भाकपा र भाकपा (मा) नेता तथा कार्यकर्ता, विद्यार्थी, प्राध्यापक, वकिल, पत्रकार, सर्वसाधारण नागरिकहरु संलग्न उक्त जुलुसको अगुवाइ र अस्तु विसर्जन गर्ने कार्य ‘नेपालमा जनतान्त्रिक अधिकार तथा नागरिक स्वतन्त्रताको स्थापनाका लागि अखिल भारतीय सम्मेलन’का संयोजक एवं पुष्पलालका अनन्य मित्र चन्द्रवलि सिंहले गरेका थिए। (नयाँ जनवाद/कमरेड पुष्पलाल श्रद्धाञ्जली विशेषांक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।