काठमाडौं– बिहीबार बिहान काठमाडौंबाट गोली प्रहार गरी नियन्त्रणमा लिइएका लुटपाटमा संलग्नहरुलाई सार्वजनिक गरिएको छ । विगत तीन महिनादेखि रातको समयमा सर्वसाधारणको गहना र नगद लुटपाट गर्दै आएको एउटा ठूलो गिरोहलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट यो गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो।
रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लुटपाटको क्रममा उनीहरूले पीडितहरूलाई कुटपिट समेत गर्ने गरेका थिए, जसका कारण कतिपय पीडितको कानै च्यातिएको र गम्भीर चोट लागेको अवस्था छ ।
पक्राउ पर्नेहरूमा लुटपाटका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ रहेका छन् । अन्य सदस्यहरूमा २३ वर्षीय आयन माझी, २३ वर्षीय मिनस रसाइली, ३२ वर्षीय समन माझी, २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, २२ वर्षीय विशाल तामाङ, २८ वर्षीय विदुर विश्वकर्मा र २९ वर्षीय फुवा तामाङ छन् ।
पक्राउ परेकामध्ये धेरैको आपराधिक पृष्ठभूमि रहेको र उनीहरू यसअघि पनि चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्तिहरू हुन् । यो गिरोहले लुटपाट गर्नुअघि बा १२ च ७७०१ नम्बरको निजी गाडीमा रेकी गर्ने र दिउँसोको समयमा ट्याक्सी चलाएर राति त्यही सवारी लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको छ ।
यो गिरोहले काठमाडौँको बौद्ध, कुमारीगाल, चाबहिल, भीमसेनगोला, एयरपोर्ट, स्वयम्भू, विजेश्वरी, कारखानाचोक, डल्लु, नयाँ बजार, बुढानीलकण्ठ, कपन र कोटेश्वर जस्ता विभिन्न क्षेत्रमा लुटपाट मच्चाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
लुटिएका सामान किन्ने कार्यमा संलग्न खोटाङ ज्वेलर्स र सुन चाँदी कालीगढ पसलमा काम गर्ने व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने उनीहरू विरुद्ध अहिलेसम्म जम्मा ४ वटा जाहेरी दर्ता भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।