काठमाडौं- तीजका गीतले युट्युब हरियो भइरहेका बेला लोकगायक प्रकाश सपुत नयाँ गीतमा पितवस्त्रसहित आएका छन्। बेमौसमी हरियोले आँखा टट्याइरहेका बेला सपुतको 'दमाई महाराज'ले संगीत पारखीलाई एकछिन शीतल महसुस गराउँछ।
गीतमा 'भेराइटी' रुचाउने सपुतले यो गीतबाट भजन गाउने आफ्नो 'रुची' पूरा गरेका छन्। भिडियोमा देखिएको लघु-कथामाथि कैंची चलाउने हो भने यो मात्रै 'भजन' हो! भजनकै कोटीमा राखेर मापन गर्ने हो भने औसत लाग्छ।
एक दिनमा १३ लाख भन्दा बढीले हेरिसकेर युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको गीतले प्रशंसा नै कमाइरहेको छ। किनभने समग्रताबाट नियाल्दा यसले बिद्रोहको बिगुल फुकेको छ। परिवर्तनका लागि प्रेरित गरेको छ।
अघिल्ला गीतहरुमा उनले गीतबाटै समाजका विसंगत पाटाहरु उधिन्न खोजे। गीतका टुक्काबाटै झटारो हाने, गीतका लाइनबाटै मन हुँडुले र गीतका पङ्तिबाटै परिवर्तनका लागि प्रेरित गरे। गीत चर्चित भए। विवादित भए। मन पराइए। गाली गरिए। सवथोक गरिए तर उनको सिर्जनशीलतालाई लिएर 'वाह' नै भनिए।
'दमाइ महाराज'मा गीतबाटै त्यस्तो केही भनिएको छैन। सुरुवात र अन्तिमका संवाद 'स्किप' गरेर संगीत मात्रै सुन्ने हो भने यसपल्ट सिर्जनशील सपुत 'गायब' छन्। भगवान मनमा रहने एउटा परम्परागत थिममा उनले टुक्काहरु उन्दै लगेका छन्। उनाइ र बुनाइ उति खँदिलो बनेको छैन। गीतलाई आध्यात्मिक बनाउन खोजेका छन् तर यसअघिका गीतहरुमा जस्तो हरफहरुले नै दिमाग रन्थन्याउँदैन। 'मन'माथि लेखिएका गीतका लाइनहरु मनमा गढ्नुपर्ने हो तर मनलाई विस्तारै छोएर मात्रै जान्छन्!
आम सर्जककै दाँजोमा राखेर हेर्ने हो भने उनको सिर्जनाको स्तर माथि नै छ। उनले नै लगातार फरक स्वादको संगीत चखाएर संगीतप्रेमीको अपेक्षा बढाइदिएका छन्। त्यही उकालिएको अपेक्षाको परिणाम पनि 'दमाइ महराज' औसत लागेको हो।
गीत औसत भएपनि कथा बनोट भने मनमोहक नै छ। मन्दिर पसेको निहुँमा गाउँबाट लखेटिएको एउटा दलित युवकको सकारात्मक 'बदला' देखाउन खोजिएको छ। जातीय विभेदका विरुद्ध सन्देश प्रवाहका दृष्टिले भने यो जबर्जस्त सिर्जना हो। मधुर संगीत र कथामा 'सस्पेन्स'ले डोर्याउँदै उनले अन्तिममा सपुतले घतलाग्दा संवाद बोलेका छन्। गीतले भन्दा संवादले मन हल्लाउँछन्। दिमाग रन्थन्याउँछन्। आँशु तुरुक्क पार्न बाध्य पार्छन्।
भिडियोमा देखिएको सपुतको स्वरुप स्वभाविक छ। त्यही अनुसार अन्य दृष्यहरु पनि 'कोरियोग्राफी' गरिएका छन्। जुन दर्शनीय लाग्छन्। तर, द्रव्यदातालाई चाहिने भन्दा बढी खुशी पार्न खोजिएको छ। जसले गर्दा भिडियोमा एकहोरिएका आँखा र शान्त बन्दै गएको दिमागले निरन्तरता गुमाउँछन्। त्यस्तै दृष्यहरु दोहोरिरहँदा भने निश्चित ब्रान्डको प्रमोशन हो कि गीतको म्युजिक भिडियो हो? भन्नेसम्मको दोधारमा ल्याइपुर्याउँछ।
यसलाई 'गलबन्दी' र 'बोलमाया'को निरन्तरता भनिएको छ। त्यसो नभन्दा पनि फरक नपर्नेगरी यो गीत प्रस्तुत गरिएको छ। ती दुई गीतको शब्द-भावमा विपरितार्थ तर संगतीमा सामिप्यता भेटिन्थ्यो। एउटा वियोग र अर्को संयोगका ती गीतको मुलकथामा एकरुपता थियो।
'गलबन्दी'को अन्तिममा लखेटिएको केटोले आमा(अञ्जली अधिकारी)लाई खत लेख्दै 'बाबाको सपना' पूरा गर्न फर्किने बताएको थियो। त्यही निरन्तरताका साथ हेर्ने हो भने सपुतबाट 'भुलचुक' महशुस हुन्छ।
'गलबन्दी'को सुरुवातमा आमाले उसको बाबाको सपना 'हिरो' बन्ने रहेको बताएकी थिइन्। तर, ऊ सन्त भएर फर्किएको छ। बाबाको सपना होइन, ऊ यसपल्ट आफ्नै बदलाका लागि फर्किएको देखिन्छ। जुल्फीमुनि रुमाल बाँध्ने त्यो 'बाबा (पिता)' र जुल्फीमुनि चन्दन घस्ने यो बाबा (सन्त) बीचको तादम्यता भेटिदैन। कि हिरो बन्ने सपना 'परदेशी- २' बाट पूरा भइसकेको महशुस भयो होला प्रकाश सपुतलाई!
मैले यसपल्ट प्रकाशको गीतमा सबैथोक भेटिनँ। एकातिर बगेको संगीत र अर्कातिरबाट जोडिएको कथामा मन बुझाउन सकिनँ। उनीबाट उत्कृष्टताको अपेक्षा गर्ने मेरोजस्तै असन्तोषी मनका लागि उनले यही गीतमा यस्ता शब्द राखेका होलान् :
सबै छ भन्छन् संसारमा तर सवै छैन
आफ्नो मन आफैंले बुझाउने हो मनको दबाइ छैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।