एजेन्सी– समयचक्र एकपटक फेरि घुमेको छ। एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ। फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन्।
सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन्। यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ।
यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छन्। त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्छ। शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षी कुममा कुम मिलाएर मार्च गर्नेछ।
पेरिस र अन्य फ्रान्सेली शहरमा दङ्गा, आगजनी र अशान्तिको पृष्ठभूमिमा फ्रान्स पुगेका भारतीय सैनिकलाई फ्रान्सेली पक्षले उदार हृदयले स्वागत गरेको छ। पहिलो विश्वयुद्धको समयदेखिको यो सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने भारतीय सेनाले जनाएको छ।
पेरिसमा भारतीय सेनाको प्रतिनिधित्व गर्ने पञ्जाब रेजिमेन्ट भारतीय सेनाको सबैभन्दा पुरानो रेजिमेन्टमध्येको एक हो। रेजिमेन्टले दुवै विश्वयुद्ध र स्वतन्त्रतापछिका विभिन्न मिसनमा भाग लिएको छ। इतिहास दोहोरिएको यो क्षणमा साहस र वलिदानको पर्याय बनेको भारतीय सैनिकले गर्वसाथ पेरिस परेडमा भागलिएर भारत–फ्रान्स मैत्री र साझा सैन्य इतिहासलाई पुनःजीवन्त बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।