नयाँ दिल्ली– भारतको राजधानी दिल्लीमा पछिल्ला ३ दिनदेखि वर्षा रोकिएको छ। तर यमुना नदीमा जलस्तरले खतराको तह पार गरेको छ।
यमुनामा जलसतह बढेपछि नदी किनार क्षेत्रका सयौं मानिसलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताएका छन्।
हरियाणाको हथिनिन्ड बाँध खोलेपछि यमुना नदीमा जलसतहले खतारको तह पार गरेको हो। नदी किनारका साथै कयौं सडकमा पनि पानी भरिएको छ।
बढ्दो जलस्तरका कारण दिल्लीमा आवागमनमा नै समस्या भएको छ। धेरै ठाउँमा बस, ट्रक लगायत सडकमा रोकेर राखिएका सवारीका साधनहरु डुबेका छन्।
यमुना नदीको किनारमा बसिरहेकाहरुलाई भित्री शहरमा करिब २ हजार ५०० वटा शिविर बनाएर सारिएको छ।
जुन महिनाबाट मनसुन सुरु भएयता दिल्लीमा भारी वर्षा पनि भएको छ। स्थानीयहरुले पछिल्ला वर्षहरुमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्।
मनसुनी वर्षाका कारण भारतका अन्य ठाउँमा पनि ठूलो जनधनको क्षति हुने गर्छ। गत महिनादेखि वर्षा हुन सुरु भएयता हिमाञ्चल प्रदेशमा मात्रै ८८ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।