खलंगा– भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।
मंगलबार बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।
उनले भने, ‘राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौं।’
महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन्। सदरमुकाम खलंगाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।