काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले संसद्लाई कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन्।
तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा नचल्ने भएको भन्दै उनले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताए। उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसद्मा लिएर आउन आग्रह गरे।
उनले भने, ‘सदन तीन नेताको होइन। सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरुको सल्लाह मिल्यो भने संसद् चल्ने भयो। नमिल्दा नचल्ने भयो। संसदमा स्वतन्त्र रुपमा जितेर आएका माननीयहरुको पनि उत्तिकै भूमिका रहन्छ । संसद्लाई संसद्जस्तो बनाउनुपर्छ। सरकार अथवा ठूला दलहरुबीचको भागबन्डाको विषय नै होइन संसद्।’
उनले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए। आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसद्मा ल्याउनु नै सरकारको गल्ती भएको धारण राखे। आफूहरु संसद सुचारु रुपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।