काठमाडौं- प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सोमबारका लागि सरेको हो। यसअघि आइतबार ३ बजेसम्मका लागि स्थगित गरिएको बताइएको थियो।
संघीय संसद्का महासचिव भरतराज गौतमले प्रकाशित गरेको सूचनामा 'विशेष कारणले' निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले बैठक बस्ने समय सारिएको जानकारी गराएका छन्।
गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। उसले प्रधानमन्त्रीबाट स्पष्टीकरण नभइ राजीनामा नै आउनुपर्ने बताएको छ।
यसैबीच, आइतबार प्रधानमन्त्री निवास सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बैठकले सदन खुलाउने सहमति गरेको थियो। प्रधानमन्त्रीले सदनमा जवाफ दिने र एमालेले सदन खुलाउन सहयोग गर्ने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।