काठमाडौं– संसद्मा जारी अवरोध खुलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल सकिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकबाट देउवा र ओली बाहिरिएका छन्। बाहिरिने क्रममा पत्रकाहरुले ओलीलाई सहमति जुटेको र संसद् बैठक खुल्नेबारे जिज्ञासा राखेका थिए। ओलीले भने संक्षिप्तमा ‘पछि हेर्नू’ भन्ने प्रतिक्रिया दिए।
यसैबीच, आइतबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक दुई घण्टा पछि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक सारेको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री र सभामुखबीच टेलिफोन संवाद भएको थियो। त्यस क्रममा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिएका थिएका थिए।
गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। उसले प्रधानमन्त्रीबाट स्पष्टीकरण नभइ राजीनामा नै आउनुपर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।