काठमाडौं– आइतबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक २ घण्टा पछि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक सारेको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री र सभामुखबीच टेलिफोन संवाद भएको थियो। त्यस क्रममा सभामुखले ३ शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिएका थिए।
संसद्मा जारी अवरोध खुलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भने जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। उसले प्रधानमन्त्रीबाट स्पष्टीकरण नभइ राजीनामा नै आउनुपर्ने बताएको छ।
केही दिनदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा एमालेको अवरोधका कारण स्थगित हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।