काठमाडौं– कोशी प्रेदशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्रीको पद्भार सम्हालेका थापाले आइतबार ३ मन्त्री नियुक्त गरेका हुन्। यसअघि आफूसँगै अरु २ मन्त्री नियुक्त गरेका थिए।
आइतबार मन्त्री हुनेहरुमा माओवादी केन्द्रका जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रेसका रामकुमार खत्री रहेका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ ग्रहण गराएका छन्। आचार्य यसअघिको सरकारमा पनि मन्त्री थिए। उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँइ भएकै कारण अवसर पाउने नेतामा पर्छन्।
माओवादीबाट मन्त्री बनेका आचार्य आर्थिक मामिला तथा योजनामन्त्री भएका छन्। कार्की र खत्री भने विनाविभागीय मन्त्री रहेका छन्।
थापाले शुक्रबार कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका थिए। कोशी प्रदेशको मन्त्रिपरिषद् ६ सदस्य पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।