काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
आइतबारको बैठकका लागि सम्भावित ५ वटा कार्यसूची छन्। बैठकको सुरुमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।
यस्तै, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधका सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल संशोधन गर्न बनेको विधेयक र राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। संशोधनहरुबारे निर्णय भएपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।