काठमाडौं– सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन्।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले उक्त कुरा बताएका हुन्। एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो।
उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएकोसमेत स्मरण गराए। उनले भने, ‘यसको बारेमा त तपाईंले अस्ती तिरै थाहा पाई सक्नुपर्ने हो। गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरु बालुवाटारमा अस्तीनै बसेको बैठकमा उपस्थिति थियौं। राजीनामा गर्नु पर्दैन। एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो। प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पर्थ्यो। संसद्मा माग गर्ने विषय हुन्थ्यो। र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन। संसद्मा उहाँहरुले कुरा उठाउन सक्नु हुन्थ्यो। के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेशन माग्न सकिन्थ्यो। तर उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो। मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा। यो गलत काम हो।’
एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।