काठमाडौं- समाजवादी मोर्चाको पहिलो बैठक सकिएको छ। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी दलका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा छन्।
‘त्यो कार्यदलले समाजवादी मोर्चाको आचारसंहिता, नीति कार्यक्रम र भावी हुने सबै कार्यक्रमको बारेमा तय गरेर ल्याउने छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।
सामान्यतया मोर्चाको अध्यक्षता ६/६ महिनामा फेर्ने सरसल्लाह भएको पाण्डेले बताए। उनले भने, ‘त्यो सबै टुंगो पनि आउँदो बैठकले गर्नेछ। तर लगभग समझदारी त्यही छ। र त्यो समझदारी टुंगो नहुञ्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ।’
मोर्चाको दोस्रो बैठक असार २७ गते एकीकृत समाजवादीको केन्द्रीय कार्यालयलमै बस्ने पाण्डेले जानकारी दिए। सोही बैठकबाट पार्टीले सातै प्रदेशमा गर्ने कार्यक्रमहरु तय गर्ने उनको भनाइ छ।
शनिबारको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी छन्।
त्यस्तै, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, राजेन्द्र पाण्डे, घनश्याम भुसाल, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी छन्।
गत असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।