काठमाडौं– मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ।
केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ।
बालकुमारी–दोभान खण्डमा हाल काठमाडौंतर्फ काम भइरहेको समितिका सूचना अधिकारी उद्वव नेपालले बताए। उनका अनुसार अहिले भूनिर्माण र नदीसँग सम्बन्धित काम सुरु भएको छ भने आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
हाल नदी किनारको पर्खाल उठाउने उठाउने काम भइरहेको तथा त्यसपछि पार्क र साइकलमार्ग निर्माण गरिने उनको भनाइ छ। मनोहरा करिडोरअन्तर्गत हालसम्म दोभानबाट बालकुमारी हुँदै नरेफाँटसम्मको सडक सम्पन्न भइसकेको छ।
बालकुमारीदेखि जडीबुटीसम्मको सडक डिभिजन सडक कार्यालयले निर्माण गरेको थियो। नरेफाँटबाट लोकन्थली जोड्ने पुल हुँदै पेप्सीकोलासम्म ट्रयाक खोल्ने काम अघि बढेको छ। पेप्सीकोलातर्फ कागेश्वरी मनोहरा नगरपालिका–७ र मध्यपुरठिमीतर्फ चारमा पर्ने ठाउँमा नदी व्यवस्थापनको काम सुरु गरिएको उनले बताए।
नयाँ बानेश्वरबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने सडकको विकल्पका रुपमा यो करिडोर रहेको छ। बिजुलीबजार वा नयाँ बानेश्वरबाटै सवारीसाधन करिडोरतर्फ डाइभर्ट हुँदा जडीबुटीमा सवारीको चाप केही कम भएको छ। समितिले काठमाडौं उपत्यकामा धोबीखोला बाहेकका सबै नदीमा काम गरिरहेको छ।
समितिले नदी सफा गर्नेसँगै सडक, पुल र ढल निर्माणको काम एक साथ अघि बढाइएको छ। उपत्यकाका सबै नदीमा सुधारका कामसँगै करिडोर निर्माण समितिको कार्यक्षेत्रमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।