काठमाडौं– सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरुको जस्तै हुने दाबी गरेका छन्।
दलाल, पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो।
पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढन सक्ने अवस्था नरहेको तर्कसमेत गरे।
उनले मुलुकमा रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे।
उनले आफ्नो पार्टी मात्रै दलाल, पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।