काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेले गरिरहेको संसद् अवरोधलाई बचकाना भनेका छन्। शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेको संसद् अवरोधमा आग्रह रहेको बताए।
‘जहाँसम्म संसद् अवरोधको कुरा छ। एकदमै बचकाना कुरा हो। किनभने उहाँहरुले जुनखालको आरोप लगाउन खोज्नुभएको छ। प्रधानमन्त्रीले बोलेको कुराले त्यो आरोपको पुष्टि हुँदैन। यो अलि आग्रह छ। खासगरी ओली सत्ताबाट झर्नुपरेको छटपटीलाई, यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनुभएको छ। जुन अनुचित छ', उनले भने।
असार १८ गते भारतीय व्यापारी प्रितम सिंहमाथि उनकी छोरी किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।
सो कार्यक्रममा प्रधानमन्त्रीले प्रितम सिंहले राजनीतिमा पनि रुचि राख्ने र एक पटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको बताएका थिए। ‘धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंका कैयौँ पार्टीहरुलाई, नेताहरुलाई, पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो’, प्रचण्डको भनाइ थियो।
भुसालले प्रधानमन्त्रीको भाषा अनौपचारिक रहेको बताए। आफूले प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक, राजनीतिक र सोच विचार गरेर बोल्नुपर्ने अपेक्षा राख्ने भुसालको भनाइ थियो। प्रधानमन्त्रीले आगामी दिनमा यस्तो विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘प्रधानमन्त्रीका बोलीका बारेमा कसैले सन्तुष्टि असन्तुष्टि राख्नुहुन्छ। प्रधानमन्त्रीले कसरी बोल्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ भने प्रधानमन्त्रीले त्यो कुरालाई सुन्नुपर्छ’, भुसालले भने, ‘तर त्यो सीमा नाघेर प्रधानमन्त्रीको हैसियत सकिदिन्छु भन्छ भने यो मृगतृष्णाको कुरा मात्रै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।