काठमाडाैं– नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढदै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरे। बुधबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको पनि स्पष्ट पारे।
गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको उल्लेख गर्दै लगानी बढाउन पनि निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे। उनले व्यापार घाटा मुलुकको मुख्य चुनौति रहेको उल्लेख गर्दै त्यसलाई घटाउन पनि उद्योगी, व्यापारीहरूले सक्दो पहल गर्नुपर्नेमा पनि जोड दिए। हाल नेपालको व्यापार घाटा ११ सय ६१ अरब पुगेको छ। सो व्यापार घाटालाई कम गर्दै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको तर्क छ।
नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर अघि बढाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पनि बैंक तथा वित्तिय संस्थाहरूलाई सचेत गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।