विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार शपथ लिएका छन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन्। कांग्रेसका प्रदिपकुमार सुनुवार र एकीकृत समाजवादीका कमल जवेगु बिनाविभागीय मन्त्री बनेका छन्। माओवादी केन्द्रमा मन्त्री बन्नेहरुमा विवाद सिर्जना भएपछि कसैलाई सहभागी गराउन नसकिएको उक्त पार्टीका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ समेत रहेका जीवन आचार्यले फेरि मन्त्री बन्ने रुचि राखेपछि विवाद बढेको बताइएको छ। यसैगरी सरकारलाई समर्थन गरेकी जसपाकी निर्मला लिम्बु पनि सरकारमा सहभागी भएकी छैनन्।
समानुपातिक सांसद बनेका उनी कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका हुन्। कांग्रेसबाट मुख्यमन्त्री बन्ने भने पहिलो बनेका छन्।
यसअघि एमालेबाट शेरधन राई, भीम आचार्य, हिक्मतबहादुर कार्की र नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री बनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।