प्रतिकात्मक तस्बिर
इलाम– इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार घिमिरेले जानकारी दिए। राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ।
बिहीबार राति करिब १०:३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको एसपी घिमिरले बताए। राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरी चौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए। पिताम्बर भने घरदेखि १०० मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।