काठमाडौं– संविधानविद् भीमार्जुन आचार्यले सभामुखको संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको दाबी गरेका छन्। कोशी प्रदेशमा बहुमत पुर्याउन सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि आचार्यले उक्त कुरा बताएका हुन्।
‘सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन। यस्तो कार्य असंसदीय र असंवैधानिक छ। सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ,’ आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरेका थिए। उक्त दाबीलाई सकारेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।
उक्त प्रकरणलाई आचार्यले संसद्को अपहेलना जन्य कार्य रहेको आरोप लगाएका छन्। ‘कोशी प्रदेशका सभामुखको आजको काम संसद्को अपहेलना जन्य कार्य हो। यसरी सरकार गठन गर्नुभन्दा त बरू प्रदेश सरकार नै नरहनु बढी उत्तम हुन्छ,’ आचार्यले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।