काठमाडौं– वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताएका हुन्।
उनले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेकोसमेत आरोप लगाए। हाइड्रोपावरका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भए पनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको उनको भनाइ थियो।
मन्त्री महतोले डिएफओले समेत मन्त्रीको कुरा नसुन्ने गुनासो गरे। डिएफओलाई रुख र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिए पनि निर्देशन सुन्दै नसुन्ने उनको भनाइ छ। तर व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डिएफओले काम गर्ने गरेको उनले बताए।
मन्त्री महतोले हरेक प्रदेशले आ–आफ्नो प्रदेशमा छुट्टै वन नीति बनाएको उल्लेख गर्दै नीतिमासमेत संघ र प्रदेश सरकारकाबीचमा समन्वय हुन नसक्दा काम गर्न गाह्रो भएको उल्लेख गरे।
उनले काठ तौलिने सूत्रका कारण नेपालको काठ बिक्रीवितरण हुन नसकेको बताए। सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको उनको भनाए छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।