काठमाडौं– कांग्रेस नेता डा शेखर कोइरालाले सरकार गठनमा सभामुख सहभागी हुन नहुने टिप्पणी गरेका छन्।
कोशी प्रदेशमा बहुमत पुर्याउन कांग्रेससहितको गठबन्धनले सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्न लागेको समाचार सार्वजनिक हुँदै गर्दा कोइरालाले उक्त अभिव्यक्ति दिएका हुन्।
सो प्रदेशमा एमालेको सरकार ढलेपछि कांग्रेसका उद्धव थापाले आज मुख्यमन्त्रीमा दाबी गर्दैछन्। उनको समर्थनमा माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतम पनि खुल्न लागेका छन्।
नेता कोइरालाले सभामुखले सरकारलाई समर्थन गरे लोकतन्त्रको मर्यादा र अभ्यास विपरीत हुने जनाएका छन्।
‘सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ,’ नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।