काठमाडौं– प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ।
समितिमा रहेका सदस्यहरुमध्ये उमेरका आधारमा ज्येष्ठ रहेकाले सांसद विनोद चौधरीले समितिको सभापतित्व गरेका हुन्। नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने विषयमा, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए।
उनले सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए। किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
समितिले अर्को बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई किसानलाई उपलब्ध गराउने मलको आपूर्तिको बारेमा भएको प्रगति र आगामी कार्ययोजना बारे जानकारी लिने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।