काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस जिल्ला सभापतिको भेलालाई नियमित बैठकको रूपमा बुझ्न आग्रह गरेका छन्। बिहीबार पार्टी मुख्यालय सानेपामा जिल्ला सभापतिहरूलाई स्वागत गर्दै महामन्त्री शर्माले भेला नियमित बैठकको रूपमा रहेको बताए।
उनले भने, ‘सभापतिको भेलालाई नियमित बैठकको रूपमा लिनुपर्छ। आगामी दिनमा कांग्रेस पार्टीलाई कसरी प्रभावकारी र नियमित बनाउने भन्ने विषयमा छलफल हुन्छ। बैठकमा सहभागी हुन नसक्नु भएका सभापतिज्यूहरू जुममार्फत सहभागी हुँदै हुनुहुन्छ।’
उनले बदलिएको कांग्रेसलाई हल्लाखल्लाभन्दा पनि सिरियस ढंगले काम गर्ने बनाउनुपर्ने बताए। सभापतिहरू जिल्लाका नायक भएका कारण जिल्ला भेलाले सर्कुलर गर्ने, समीक्षा गर्ने, पार्टीका प्रतिनिधिहरूलाई प्रेरित गर्नका लागि पार्टीको बैठक आह्वान गरिएको शर्माले दाबी गरे।
महामन्त्री शर्माले आगामी २७ गते केन्द्रीय समितिको बैठक आह्वान गरिएको र त्यसमा समेत यी बैठकका सुझाव पेस गर्ने बताए।
केन्द्रीय कार्यसमितिको बैठक लगत्तै दशैं अगावै नीति महाधिवेशन सक्ने उनले जनाएका छन्। शर्माले कांग्रेस ६ प्रदेशसहित संघीय सरकारमा रहेको र आज बेलुकासम्म सात वटै प्रदेशमा कांग्रेसको सरकार रहने दाबी गरे।
बैठकमा कांग्रेसकाे सदस्यता नवीकरण,अनलाइनमार्फत नयाँ सदस्य कसरी भर्ने भन्नेबारेमा समेत सभापतिहरूलाई जानकारी दिइने कांग्रेसले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।