काठमाडौं- ललिता निवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरमा सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको छ।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ। गोलाबाट तोकिएको पेसी श्रेष्ठ र रेग्मीको इजलासमा परेपछि हेर्न नमिल्ने भएको छ।
रेग्मी आफैं बालुवाटार जग्गा प्रकरणमा विवादमा परेका न्यायाधीश हुन् भने उनी गुरुङको पूर्व कानुन व्यवसायी पनि हुन्। गुरुङको धेरै मुद्दामा बहस गरेका रेग्मीले ललिता निवासको जग्गा नै फि वापत लिएको देखिएपछि उनी आफैं विवादमा परेका छन्। रेग्मीले उक्त जग्गामध्ये केही अंश सरकारलाई फिर्ता पनि गरेका छन्।
यसअघि उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा रहेको पेसी परेर हेर्न नभ्याउने हुँदै सरेका थियो। न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा पाँचौ नम्बरमा रहेको पेसीको मुद्दा हेर्न नभ्याउने हुँदै सरेको थियो।
बन्दी प्रत्यक्षीकरणको निवेदनमार्फत उनीहरुले आफूहरुलाई गैरकानुनी रुपमा न्यायिक हिरासतमा राखेको दाबी गर्दै असार १३ गते बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए। उनीहरुको निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ माग्दै कारण देखाउ आदेश जारी गरेको थियो। मंगलबार उनीहरुलाई रिहाइ गर्ने कि अनुसन्धानका लागि थुनामा राख्ने सम्बन्धी निर्णय सुनाउनका लागि बहसको पेसी रहेको थियो।
त्यस्तै हदम्यादको विषय पनि सर्वोच्चको उक्त सुनुवाइले निश्चित गर्ने थियो। मंगलबार नै प्रहरीले उनीहरुलाई दोस्रो पटकका लागि ७ दिनको म्याद थप गरेको छ। प्रहरीले कीर्तेसँगै संगठित अपराधमा रुपान्तरण गरेको छ। योसँगै उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने भएको छ।
कीर्तेमा २५ दिनसम्म मात्र थुनामा राख्न सकिने थियो। प्रहरीले अनुसन्धानका लागि समय लाग्ने भन्दै संगठितमा रुपान्तरण गर्दै म्याद थपको माग गरेको थियो। जिल्ला अदालतले सरकारी वकिलको उक्त प्रस्ताव स्वीकार गर्दै सात दिनको म्याद दिएको हो। प्रहरीले अब पक्राउ गरेकाहरुलाई थुनामै राखेर पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुलाई खोजी गर्ने देखिन्छ। यसअघि ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।