काठमाडौं– कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आज (बिहीबार) सकिँदैछ। प्रदेश प्रमुख खापुङले असार १७ गते, आइतबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए।
प्रदेश प्रमुखले दिएको ५ दिनको समय आज सकिने भएकाले दलहरुले सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन्। कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले सरकार गठनमा दाबी पेस गर्ने तयारी गरेको छ।
गठबन्धन दलले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन्। जसअनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले थापालाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेस गर्ने तयारी गरेका छन्।
गठबन्धन दलका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सहमतिमा ल्याउने प्रयास गरेका थिए। तर, राप्रपाले निर्णय नगरेका कारण गठबन्धनका दलहरुले माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमको समेत नाम उल्लेख गरेर दाबेदारी पेस गर्ने भएका छन्।
३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनका दल नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सांसद् छन्। नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।