काठमाडौं– उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधी राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसद्लाई हुने बताएका हुन्।
उनले प्रधामन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद् चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताए। उहाँले संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको दाबी गरेका छन्।
उनले भने, ‘संसद्मा बोलाएर प्रधानमन्त्रीज्युको आशय के हो भनेर सोध्ने अधिकार संसद्ले राख्छ। हरेक सांसदको निम्ति त्यो अधिकार छ। अनि त्यो अधिकार हुँदाहुँदै, त्यो अधिकार सुरक्षित रहँदारहँदै, संसदीय मर्यादा र प्रक्रियाको बाटो यो हुँदाहुँदै संसद् चल्न दिन्नौं भन्ने कुरा त्यो संसदीय प्रक्रिया पनि होइन। त्यो संसदीय प्रक्रियाको विषय पनि होइन। र त्यो जिम्मेवारीपूर्ण कुरा हुँदैन। प्रधानमन्त्रीको आशय के हो भन्नेकुरा सुनिसकेपछि उहाँहरुलाई त्यो कुरा चित्त बुझेन, ठीक लागेन त्यसपछि के गर्ने भन्ने कुरा त्यो उहाँहरुको त्यसपछिको कुरा हुन्थ्यो।’
प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिक्षालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।