काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन्।
बुधबार दिउँसो माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंगाएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’
आफूहरु सुशासन, भ्रष्टाचारविरूद्धको लडाइँमा भएको र त्यो जित्ने दाबी गर्दै उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौं। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्तिहरू एकताबद्ध हुँदैछौं। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौं।’
युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले युवाहरूमा विश्वास गरेर नयाँ ढंगले अगाडि बढ्ने बताए। उनले भने, ‘तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस्।’
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको दाबी गरे। उनले भने, ‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।