काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। बुधबार प्रतिनिधि सभामा एमालेको तर्फबाट बोल्दै रघुजी पन्तले प्रधानमन्त्री नैतिकताको आधारमा पदमा बस्न उपयुक्त नभएको बताए।
‘नैतिकताको आधारमा अब उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन। उहाँले राजीनामा गर्नुस्। जोसुकै प्रधानमन्त्री बनोस्, दिल्लीतिर नफर्किने नेपालीतिर फर्किने नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो। जसले यो देशको स्वाभिमान, गरिमा र मर्यादालाई रक्षा गर्न सकोस्,’ पन्तले भने।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई जोडेर आक्रामक अभिव्यक्ति दिएका पन्तले लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको बताए।
प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली गएको बताएका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको भावनामा आघात र स्वाभिमानमा ठेस लागेको बताए। ‘नेपालको प्रधानमन्त्री नेपालतिर फर्किने हो कि दिल्ली जाने?’, पन्तले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।