काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेले राष्ट्रिय सभा अवरोध गरेको हो।
बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रलाई नै कमजोर बनाउने भन्दै आपत्ति व्यक्त गरे। उनले प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग अघि सारे।
‘हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ कसको इशारामा नियुक्त हुन्छ? प्रधानमन्त्रीलाई सार्वभौम संसद्ले बनाउँछ कि भारतले बनाउँछ?,’ उनले भने, ‘दिल्लीको इशारामा बन्छ? हाम्रो पार्टीले यसलाई गम्भीर रुपमा लिएको छ। भारतको इशारामा बन्ने प्रधानमन्त्री स्वीकार्य छैन?’
दिल्लीको इशारामा प्रधानमन्त्री बनेको भए राजीनामा दिनुपर्ने उनले माग गरे। उनले आफूहरु संसद् अवरुद्ध गर्ने जानकारी गराएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बैठक स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।