काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्।
बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकपछि केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।
बैठकमा सहभागी नेताका अनुसार पार्टी सभापतिले बैठक नै नराखेको भनी आलोचना भएपछि उनले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका हुन्। कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो।
विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने थियो तर ९ महिनासम्म पार्टी सभापति देउवाले बैठक नै बोलाएनन्। केन्द्रीय समिति तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको छ।
कांग्रेसले हालसम्म निर्वाचनको समीक्षा समेत नगरेको र लामो समयसम्म बैठक नबसेका कारण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए। केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गरेका थिए।
महामन्त्री र अन्य पदाधिकारीहरुले पार्टीको गतिविधिबारे सार्वजनिक आलोचना गर्न थालेपछि पार्टी सभापति देउवाले बैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।