एमाले संसदीय दलका सचेतक महेश बर्तौला (फाइल तस्बिर)
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिको कडा प्रतिवाद गर्ने जनाएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्नका लागि भारतको सहयोग चाहिने, दिल्ली धाउनुपर्ने आशयको विवादित अभिव्यक्ति दिएका थिए।
नेपालमा पहिलोपटक ट्रक ल्याएका भनिएका प्रितम सिंहमाथि आधारित रहेर लेखिएको पुस्तक ‘रोड्स टु द भ्याली: द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्ति दिएका थिए। ‘उहाँ ( प्रतिम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरु–साथीहरुसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघात, बेइमान भएको भन्दै एमालेले कडा प्रतिवाद गर्ने बताएको छ। नेपाल लाइभसँग कुरा गर्दै एमालेका सचेतक महेश बर्तौलाले संसद्ले बनाएको प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले त्यसको प्रतिवाद गर्ने बताए।
प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक समेत बोलाएको छ। एमालेले बुधबार दिउँसो १:३० बस्ने गरी संसदीय दलको कार्यालय सिंहदबारमा बैठक बोलाएको हो।
‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर छलफल गर्ने र आफ्नो धाराणा स्पष्ट गर्नका लागि बैठक बोलाइएको हो,’ बर्तौलाले भने ‘प्रधानमन्त्री संसद्ले बनाउने हो। भारतले बनाएको भनि दिएको अभिव्यक्ति आपत्तिजनक छ।’
एमालेले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा उक्त विषय उठाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।