काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकका ४ वटा सम्भावित कार्यसूची छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिनेछ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
संशोधनहरुबारे निर्णय भएपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
अनुचित लेनदेन (मिटरब्याज)लाई फौजदारी कसुर करार गर्नेगरी ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ ल्याएको हो। उक्त विधेयक राष्ट्रिय सभामा छलफलपछि पारित भइ प्रतिनिधि सभामा आएको हो। प्रतिनिधि सभाको आइतबारको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो।
अध्यादेशमार्फत् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन गर्दै संहिताको दफा २४९ मा देहाय (क) थप गरी अनुचित लेनदेन गर्न नहुने व्यवस्था गरिएको छ।
अपराध संहिता संशोधन गर्ने अध्यादेशमा लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेख गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेख गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने कार्यलाई अनुचित लेनदेन भनिएको छ। यस्तै, लेनदेन गर्दाको बखचमा ब्याज रकम समेत साँवामा जोडी लिखत तयार गर्ने, ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने, ऋणीले तिरे बुझाएको रकमको भरपाइ नदिने वा लिखत नबनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने वा हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तर गरी लिने कार्यलाई गैरकानुनी भनिएको छ।
सरकारले मिटरब्याजलाई कसुर करार गर्दै ल्याएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाख २०८० मा जारी गरेका थिए।
अनुचित लेनदेनको कसुर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशबाट गरिएको छ।
उक्त अध्यादेश जारी भएपछि अध्यादेशको व्यवस्थाअनुसार मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन भइसकेको छ। आयोगले अहिले उजुरीमाथि अध्ययन तथा छानबिन चलिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।