एजेन्सी– म्यानमार सरकारका प्रवक्ता ज ह्यातले संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनलाई झुटो भन्दै अस्वीकार गरेको छ। राष्ट्रसंघले मंगलबार एक प्रतिवेदन जारी गर्दै म्यानमारका सैनिक प्रमुखसहित उच्च सैनिक अधिकारीहरुले रोहिंग्या समुदाय माथि जातीय हिंसा मच्चाएको आरोप लगाएको थियो।
सरकारका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले म्यानमार सैनिकमाथि झुटो आरोप लगाएको अभिव्यक्ति दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
संयुक्त राष्टसंघले म्यानमारका सैनिकप्रमुख र ५ उच्च सैनिक अधिकृतहरुलाई जातीय हिंसा मच्चाएको आरोपमा कारबाही गर्नुपर्ने माग गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदन सार्वजनिक भएको एक दिनपछि म्यानमार सरकारका प्रवक्ताको उक्त धारणा सार्वजनिक भएको हो। राष्ट्रसंघले गतवर्ष म्यानमारको रखाइन प्रान्तमा रहँदै आएका रोहिंग्या समुदायमाथि म्यानमार सैनिकले ज्यादती गरेको आरोप प्रतिवेदनमा लगाएको छ।
सरकारी प्रवक्ता ज ह्यातले भनेका छन्, ‘हाम्रो अडान स्पष्ट छ। हामी अन्तर्राष्ट्रिय मानवअधिकार आयोगले जारी गरेको कुनै पनि प्रतिवेदनमा समर्थन जनाउँदैनौँ। म्यानमारको सरकारी सञ्चार माध्यमलाई उधृत गर्दै रोयटर्सले लेखेको छ।
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव स्व कोफी अन्नानले रोहिंग्या समुदायहरुको बसोबास रहेको राखाइन प्रान्तको भ्रमण गर्ने इच्छा व्यक्त गरे पनि म्यानमारले स्वीकृति नदिएकाले पूर्वाग्रही ढंगले प्रतिवेदन आएको प्रवक्ताले दाबी गरे।
प्रवक्ता ज ह्यातले भने, ‘मानवअधिकार हनन विरुद्ध सरकारले शुन्य सहनशीलता अपनाएको छ।’ उनले राष्ट्रसंघले जारी गरेको पूवाग्रही प्रतिवेदनउपर छानबिन गर्न एक समिति बनाएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।