काठमाडौं- नेपाली कांग्रेस नेतृत्वको सार्वजनिक स्थलमा आलोचना गर्न रोक लगाउने निर्णय गरिएको छ। नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले नीति तथा नेतृत्वको सार्वजनिक स्थलमा आलोचना रोक्ने निर्णय गरेको हो।
विभाग प्रमुख तथा प्रवक्ता मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने।’
यसैगरी विभागको आफ्नै वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने निर्णय गरेको छ। हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखेर खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरुलाई एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने बताइएको छ।
सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानुनी दायरामा ल्याउनेसमेत निर्णय गरिएको छ।
बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गरेको छ। पार्टीको विधानअनुसार काम हुन नसकेको, बैठकसमेत राख्न नखोजेको, मन्त्री तथा अन्य नियुक्तिसमेतमा एकलौटी गरिएको भन्दै सभापति देउवाको कांग्रेस पदाधिकारीहरुले नै आलोचना गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।