काठमाडौं- सभामुख देवराज घिमिरेले राखेको प्रधानमन्त्रीसहित ठूला तीन दलको बैठकमा संसदीय समितिहरुको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ।
'संसदीय समितिहरुको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ', बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने।
समिति सभापतिमा भने दलहरुबीच भएको पुरानै सहमति अनुसार नेतृत्व चयन हुनेछ। त्यही समतिलाई कार्यान्वयन गर्ने मन्त्री गुरुङको भनाइ छ।
गत वैशाख ११ गते प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको बैठकले यसबारे सहमति गरेको थियो।
सो सहमति अनुसार, लेखा समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति एमालेले पाउने सहमति भएको थियो। एमालेले अर्को एक समितिको सभापति पनि नेतृत्व पाउने सहमति भएको थियो।
त्यस्तै, संसदीय सुनुवाइको सभापति कांग्रेसले पाउने सहमति भएको थियो।
संसदीय समितिहरु गठन भएको हप्तौँ भइसक्दा पनि सभापति चयन नभएको भन्दै आलोचना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।