काठमाडौं- कोशी प्रदेश सरकार गठनबारे नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले सभामुखलाई समेत गणना गर्न लागेको भन्दै नेकपा एमाले आपत्ति जनाएको छ।
सभामुख बाबुराम गौतमले संसद्मा आफू माओवादी केन्द्रबाट अलग भएको भनी संसद्को फ्लोरलाई समेत जानकारी गराएर दलको आवद्धताबाट अलग भएका कारण उनलाई गणना गर्ने प्रयास हुन सक्ने र यस्तो भएमा त्यो मान्य नहुने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।
कोशी प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया चलिरहेको छ। प्रदेश सभामा दुवै पक्षको ४६/४६ मत रहेको छ। दुवै पक्षको मत बराबर भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउनेछन्। यस्तो अवस्थामा सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिन्छ। तर त्यो गर्नु निकै जोखिमपूर्ण हुनेछ। किनकी, सभा सञ्चालन हुने दिन कुनै एक प्रदेश सभा सदस्य अनुपस्थित भएमा सभामुखले निर्णायक मत दिन पाउने छैनन्। निर्णायक मत दिनका लागि दुवै पक्षमा बराबर मत हुनुपर्नेछ।
यो प्रक्रिया चुनौतीपूर्ण भएकाले सभामुखलाई नै माओवादी केन्द्रको प्रदेश सभा सदस्य देखाउदै प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी पेस गर्न सक्ने देखिएकाले आफूहरु उक्त गैरसंवैधानिक अभ्यासको विरोधमा रहेको भण्डारीले बताए।
प्रदेश प्रमुखलाई पनि एमालेले यो कुराको जानकारी गराएको छ। धारा १६८को उपधारा २ अनुसार स्पष्ट बहुमत नदेखाई मुख्यमन्त्री नियुक्त गर्न नमिल्ने कुरा आफूहरुले प्रदेश प्रमुखलाई पनि जानकारी गराएको भण्डारीले बताए।
भण्डारीले ६ जना प्रदेश सभा सदस्य भएको राप्रपा र एमाले प्रतिपक्षमा र बाँकी दलहरु मिल्दा पनि बराबर मात्र हुने भन्दै उपधारा ३ अनुसारको प्रक्रिया सुरु गरिनुपर्ने दाबी गरे।
कोशी प्रदेश सभामा पहिलो दल एमाले रहेको छ। एमालेको ४० प्रदेश सभा सदस्य छन्। त्यस्तै दोस्रो ठूलो दल नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम सभामुख भएका कारण उनी सरकार गठनको प्रक्रियामा सहभागी हुन नपाउँदा बहुमत पुर्याउन समस्या भइरहेको छ। गठबन्धनलाई सरकार गठनका लागि राप्रपालाई मनाउनुपर्ने बाध्यता आइपरेको छ। एमालेले पनि यही कुरा बुझेर राप्रपालाई सरकारमा जानबाट रोक्ने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।