काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पारेका छन्।
सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चताप लागेको बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चताप लागेको बताएका थिए।
प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री प्रचण्डले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि नपुग्ने बताए। उनले प्रधानमन्त्री प्रचण्डलालाई स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे।
कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको उनको भनाइ थियो। उनले नेपालको वर्तमान राजनीति स्व. कोइरालाको दिशा निर्देशअनुसार चलेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।