काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय निर्माण प्रक्रिया तत्काल अघि बढ्ने घोषणा गरेका छन्।
गिरिजाप्रसाद कोइराला मेमोरियल सामुदायिक कलेजको १२औं वार्षिक उत्सव तथा गिरिजा बाबुको सयौं जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त घोषणा गरेका हुन्।
‘मलाई के लाग्छ भने गिरिजाप्रसाद कोइरालाको नाममा बाटो बन्नु, हस्पिटल बन्नु, विश्वविद्यालय बन्नु जिपी कोइरालाको मात्रै नाम जस्तो लाग्दैन। त्यहाँ प्रचण्ड पनि जोडिन्छ कँहि न कँहि। उनको नाम आए पछि प्रचण्ड नजोडी एक्लै हुन्न। त्यसकारण त्यो मेरो पनि सम्मान हो भनि म ठान्छु। त्यसकारण विश्वविद्यालय निर्माण प्रक्रिया अघाडि बढ्यो। यहि विश्वास तपाईंहरुलाई राख्छु,’ प्रचण्डले घोषणा गरे।
त्यसअघि शिक्षाविद् विद्यानाथ कोइरालाले गिरिजाप्रसाद कोइराला विश्वाविद्यालयको आवश्यकता र औचित्यबारे प्रष्ट पारेका थिए। कोइरालाले गिरिजाबाबुको नाममा बन्ने विश्वविद्यालयले गाउँदेखि विश्वलाई जोड्ने सेतुको काम गर्ने खाका अघि सारेका थिए।
प्रधानमन्त्री प्रचण्डले उक्त विषय अर्ग्यानिक र आवश्यकता अनुरुप रहेकोले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय बनाइछाड्ने संकल्प गरेका हुन्।
सिफलस्थित जिपी कोइराला सामुदायिक कलेजको प्रांगणमा भएको कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापा, कांग्रेस नेतृ सुजता कोइराला, त्रिविका रेक्टर शिवप्रसाद भुसाललगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।