काठमाडौं- कोशी प्रदेशमा सरकार गठन, संसदीय समितिमा सभापति चयनसहितका अजेण्डामा छलफल गर्न सत्ता-गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ।
कोशी प्रदेशमा एमाले सरकार ढलेसँगै नयाँ सरकार गठन गर्नुपर्ने भएको छ। प्रदेश प्रमुख पशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका छन्। उक्त प्रदेशमा सत्ता-गठबन्धन र एमालेको गठबन्धनका बीचमा ४६/४६ मत रहेको छ।
सरकारका गठनका लागि एक सिट सत्ता-गठबन्धनलाई नपुग्ने देखिएको छ। त्यस्तै मुख्यमन्त्रीमा माओवादी र नेपाली कांग्रेस दुवैको दाबी देखिएको छ। यही विवाद मिलाउन नेपाली कांग्रेस र माओवादीका प्रदेश सभा सदस्य काठमाडौं आएका छन्। उनीहरुको आग्रहपछि सत्ता-गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका हुन्।
त्यस्तै प्रतिनिधि सभा अन्तर्गतका समितिहरुमा सभापति चयन गर्न ढिलाइ भएकोले बैठकमा उक्त अजेण्डा पनि राखिएको छ। लेखा समिति बाहेक अन्य समितिको सभापतिमा भागबन्डाको छलफल नै नभएकाले रोकिँदै आएको छ। सभापति नहुँदा समितिहरुले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन्।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र लोसपा लगायतका दलका नेताहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।