काठमाडौं- निर्वाचन आयोगले मस्यौदा गरेको ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा एउटा राजनीतिक पार्टीको सदस्य रहेको व्यक्ति अर्को पार्टीबाट उम्मेदवार बन्न नसक्ने निर्णय गरेको छ।
सोमबार बसेको निर्वाचन आयोगको बैठकले गरेको निर्णयमा भनिएको छ, 'कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने।'
पछिल्ला निर्वाचनमा तालमेल र गठबन्धनका नाममा एउटा दलका नेताहरु अर्कै दलबाट उम्मेदवार हुने गरेका थिए। सार्वजनिक रुपमा आलोचना हुने गरेको भए पनि त्यस्तो गतिविधिलाई रोक्ने कानुनी प्रावधान थिएन। आयोगले तयार गरेको विधेयकको मस्यौदामा रहेको यो प्रावधान कानुन बनेमा त्यस किसिमका गतिविधि रोकिने छन्।
त्यस्तै, आयोगले प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने निर्णय पनि गरेको छ।
'संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने', विधेयकमा रहेका मुख्य व्यवस्थाबारे जानकारी दिन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।