काठमाडौं- निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनका क्रममा गर्ने खर्च बैंकबाट मात्र गर्ने कानुन निर्माणको प्रस्ताव गरेको छ। आयोगले सोमबार पास गरेको एकीकृत निर्वाचन कानुनसम्बन्धी मस्यौदा विधेयकमा यस्तो व्यवस्था गरिएको हो। निर्वाचनमा हुने भड्किलो खर्च र बैंकको कारण निर्वाचन प्रभावित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न ऐनमा यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
‘उम्मेदवारले निर्वाचनमा खर्च गर्दा मनोनयनपत्रमा उल्लेख गरेको बैंक खातामार्फत खर्च गर्नुपर्नेछ,’ आयोगले तयार पारेको मस्यौदा विधेयकमा भनिएको छ। आयोगको पदाधिकारी बैठकपछि उक्त विधेयक संसद्मा दर्ता गर्नका लागि गृह मन्त्रालय पठाएको छ। गृह मन्त्रालयले उक्त विधेयक आवश्यक ठानेमा संसद्मा दर्ता गर्नेछ भने थप छलफलका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ।
मन्त्रिपरिषद्ले उक्त विधेयकमा आवश्यक संशोधन र हेरफेर भने गर्न सक्ने छ। आयोगले मस्यौदा विधेयकमा निर्वाचनलाई पारदर्शी र कम खर्चिलो बनाउन मनोनयपत्र दर्ता गर्दा नै बैंक खाता खुलाउनुपर्ने र त्यही खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। त्यस्तै आयोगले निर्वाचन खर्च सबै क्षेत्र र उम्मेदवारका लागि एकै हुन नसक्ने भन्दै केही आधारहरु पनि तय गरेको छ।
‘आयोगले निर्वाचन खर्चको सीमा तोक्दा भौगोलिक क्षेत्रको बिकटता वा दुरी, मतदान केन्द्रको संख्या, मतदाताको संख्या र यातायातको साधनको उपलब्धता समेतको आधारमा फरकफरक क्षेत्रमा निर्वाचन खर्चको सीमा फरकफरक हुने गरी तोक्न सक्ने ’ मस्यौदा विधेयकमा भनिएको छ। यो व्यवस्था लागू भएमा उम्मेदवारले रकम वितरण रोकिनेछ भने खर्च पारदर्शी हुनेछ। निर्वाचन आयोगले अहिले निर्वाचन खर्चका लागि सिलिङ तोक्दै आएको छ।
उम्मेदवारले त्यो भन्दा धेरै खर्च गरे पनि त्यही बराबरमात्र बुझाउने गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।