काठमाडौं- निर्वाचन आयोगले कानुनमै निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ। आयोगले निर्वाचन हुने दिन र निर्वाचन प्रचारप्रसारको अवधि विधेयकमा नै किटान गर्न प्रस्ताव गरेको छ।
निर्वाचन आयोगले मस्यौदा गरेको निर्वाचन कानुनसम्बन्धी एकीकृत विधेयकमा निर्वाचन कहिले गर्ने भन्नेमा विवाद नआयोस् भनेर ऐनमा नै मिति तोक्न प्रस्ताव गरेको हो। आयोगले विधेयक मस्यौदा सोमबार पारित गर्दै गृह मन्त्राालयलाई पठाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचन कहिले गर्ने भन्ने विवादका लागि सहज बाटो कानुनमै खोज्न प्रस्ताव गरेको बताए। उनले आयोगका तर्फबाट मस्यौदा गरेर गृह मन्त्रालाय पठाएको र गृह मन्त्रालयले संसद्मा पेस गर्दै पारित गरेर आएपछि राजपत्रमा प्रकाशित हुँदै लागू भएमा समयमै निर्वाचन हुने बताए। यो व्यवस्थाले निर्वाचन आयोगलाई तयारीदेखि निर्वाचन कहिले हुने भन्ने अन्योल समेत हट्नेछ।
यसबाट संविधानमा बजेट ल्याउने मिति तोकिएजस्तै निर्वाचन कानुनमा निर्वाचनको मिति तोकिनेछ। हाल विद्यमान कानुनमा निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने उल्लेख छ। उक्त व्यवस्था संशोधन गर्दै कानुनमै राख्न आयोगले प्रस्ताव गरेको हो। विगतमा पनि आयोगले यस्तो प्रस्ताव गरेको थियो। तर संसदले अन्तिम समयमा हटाउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।