काठमाडौं- विभिन्न पार्टीका महिला नेताहरुले राज्यका तीन तह (संघीय संसद्, प्रदेश सभा र स्थानीय पालिका) का सबै पदहरु (प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत पहिलो हुने जित्ने प्रणाली र पालिकाको अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख र वडाध्यक्ष)मा उम्मेदवारी दिँदा दलले उम्मेदवारी दिने संख्याको कम्तीमा पचास प्रतिशत समानुपातिक संख्यामा महिला उम्मेदवार दिनुपर्ने व्यवस्था गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्।
महालक्ष्मी उपाध्याय डिना, बिन्दा पाण्डे, रेनु चन्द, मानुषी यमि भट्टराई, लक्ष्मी खतिवडा, पेम्बा लामा, सृजना रिजाल, रमा गिरी र उषा रावतले बुझाएको ज्ञापनपत्रमा आयोगले तयार गर्दै गरेको निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदामा त्यस किसिमको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
साथै, ठूलो संख्याका मतदाताहरु आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र रहने गरेको र रोजगारीको प्रकृतिका कारण मतदानका लागि आफ्नो ठाउँमा पुग्न असम्भव भई मतदानबाट वञ्चित हुँदै आएको भन्दै उनीहरुले पनि मतदान गर्ने व्यवस्था मिलाउन भनिएको छ।
त्यस्ता मतदाताहरुले अस्थायी बसोबास भएको स्थानबाट नै मतदान गर्न पाउने व्यवस्था गर्नका लागि उनीहरुले अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।