काठमाडौं– राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेको आरोप लगाएका छन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लैजाने गरेको गुनासो गरेका हुन्। उनले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको भन्दै आक्रोशसमेत पोखे।
बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरे पनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने उनको भनाइ छ।
उनले बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महशुस भएको बताए। संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत् केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने उनको भनाइ थियो।
उनले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेकोसमेत बताए। विदेशमा काम गर्न जाने युवाहरुलाई सीपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।