काठमाडौं- प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० पारित भएको छ। समितिका जेष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो।
संघीय संसद्को प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिए।
समितिको अघिल्लो बैठकको निर्देशन अनुसार सचिवालयले तयार पारेको उक्त कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मत रुपमा पारित गरिएको हो। कार्यविधि अनुसार समितिको सभापति अनुपस्थित रहेको अवस्थामा समितिको जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै बैठक सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। साथै बैठकका बारेमा समितिका सदस्यहरुलाई तीन दिन अगावै जानकारी गराउनुपर्ने लगायतका व्यवस्था उल्लेख गरिएको छ।
ऊर्जा र सिंचाईको व्यवस्था थप्नुपर्ने माग गर्दै सभामुखको ध्यानाकर्षण
कृषि. सहकारी तथा प्राकृतिक स्रोत समितिका अधिंकाश सदस्यहरुले ऊर्जा र सिंचाईको कुरा समितिबाट हटाएको भन्दै आपत्ति जनाएका छन्। सासद विनिता कठायत, डिल्लीराज पन्त, मानवीर राई, मीना तामाङ, बिजुला रायमाझी लगायतका सांसदहरुले कृषि, सहकारी तथा प्राकृतिक समितिमा ऊर्जा र सिंचाई समेत समेटिनुपर्ने माग गरे।
समितिको आन्तरिक कार्यविधि पारित गरे लगत्तै समितिमा उपस्थित १३ जना सांसदहरुको टोलीले सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन। भेटपछि नेपाल लाइभसँग कुरा गर्दै समितिका सभापति थापाले भने, ‘कृषि समितिबाट सिंचाई र जलस्रोतको कुरा अहिलेको नियमावलीबाट हटाइको रहेछ। कृषिसँग सिंचाई भएन भने यी दुई वटाबीचको तादम्यता मिल्दैन। त्यस कारण कृषि मन्त्रालयसँग सिंचाई आउनुपर्यो भनेर हामीले सभामुखसँग अनुरोध गर्यौं। नियमावलीमा भएको व्यवस्था परिवर्तन गर्नका लागि सभामुखको ध्यानाकर्षण गरायौं।’
सभामुख घिमिरेले समितिको ध्यानाकर्षणका विषयमा सकारात्मक रहेको बताएका छन्। ‘यो नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। यसका विषयमा ध्यानाकर्षण भएको छ,’ सभामुख घिमिरेको भनाइलाई उदृत गर्दै समितिका सभापति थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।