एनपी साउद (फाइल तस्बिर) काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने खुलासा गरेका छन्। नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनमा सोमबार सम्बोधन गर्दै उनले भ्रमणबाट लाभ लिने बताए।
‘चीन र भारतको इमर्जिङ इकोनोमीबाट हामी प्रतिफल लिन सक्दछौँ। लाभ लिन सक्दछौँ। त्यो लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ। सार्थक हुनेछ। यो विश्वास म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छु,’ उनले भने।
साउदले चीन महाशक्ति राष्ट्रको रुपमा इमर्जिङ भएर अगाडि बढिरहेको बताए। ‘चीनको त्यो विकासको छलाङलाई पनि नेपालको सन्दर्भमा सकारात्मक उपयोग गर्नु उपयुक्त हो,’ उनले भने।
साउदले प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा ऐतिहासिक उपलब्धिहरु गरेको दाबी गरे। ‘हाम्रो जल शक्तिको निर्यातको प्रत्याभूति दिने र कुनै देशमा सम्झौता भएको थिएन। अहिले पहिलोचोटि भारतले १० हजार मेगावाट बिजुली दशभित्र किन्न तयार छ भनेर हामीसँग एमओयू गरेको छ। विद्युत बेच्ने बजार उपलब्ध भइसकेको छ। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ, त्यो हाम्रो चुनौती छ,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो महिना भारत भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।